यही बैशाख ३०गते हुन लागेको स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर र उपमेयरमा सता गठबन्धनको साझा उम्मेदवारहरुलाई जिताउने संकल्प लिएका छन् । शनिबार वीरगञ्जमा गठबन्धनको पाँचै दलका १ देखी ३२ वटै वडाका वडा अध्यक्षहरु सहित जिल्लाका शिर्ष नेताहरु सम्मिलित बैठकमा वडा अध्यक्षहरुले गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह र ईम्तीयाज आलमलाई जिताउने संकल्प लिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले गठबन्धनका कारण एमालेको हैकम प्रवृत्तीले घुँडा टेकेको र बहुमतको सरकार सहित प्रदेशको सरकारबाट पनी हात धुनु परेको बताए । गठबन्धनकै कारण अधिनायकबाद ढलेर वर्तमान सरकारको गठन भएकाले अलिकती पनि बेईमानी नगर्न वडा अध्यक्षहरुलाई आग्रह गरे । ‘तपाईहरुलाई पार्टीले उम्मेदवार बनाएको हो, त्यही पार्टीको केन्द्रिय समितिले गठबन्धनलाई जिताउने निर्णय गरेको छ । त्यसमा दायाँबायाँ नगर्नुहोला,’ रिजालले निर्देशन दिँदै भने, ‘कांग्रेस बेईमान हो भन्ने आरोप नलागोस ।’
त्यस्तै कांग्रेस नेता तथा पूर्व मन्त्री अजय चौरसीयाले गठबन्धनको धर्म ईमान्दारसाथ पालना गर्न निर्देशन दिए । ‘विपक्षी गठबन्धनको उम्मेदवार विजय सरावगिको मेरीट के हो रु’ चौरसीयाले प्रश्न गर्दै भने, ‘उसले विकास, निकास र नैतिकताको कुरा छाडेर पैसाको कुरामा मात्रै लागेको छ’, त्यसकारण पनि गठबन्धनको उम्मेदवारलाई जिताउन जरुरी छ । त्यस्तै कांग्रेस नेता एवं पूर्व मन्त्री सुरेन्द्र चौधरीले आउँदा दिनमा नेपाली राजनितिमा गठबन्धन अनिवार्य शर्त बनेकोले ईमान्दारीसाथ पालना गर्न नेता कार्यकर्तालाई अनुरोध गरे ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पर्सा क्षेत्र नम्बर १ का सङ्घीय सांसद प्रदीप यादवले यो लडाई विजय सरावगी र राजेशमान सिंह तथा ईम्तीयाज आलमको नभई अधिनायकवाद र शान्ति र संविधान विचको लडाई भएको बताए । ‘गठबन्धन हार्नु भनेको शान्ति र संविधान पक्षधरहरु हार्नु हो । त्यसकारण गठबन्धनमा कसैले पनि दायाँबायाँ नगर्नुस, जसले गरेको थाहा पाईन्छ उसलाई तत्कालै कारवाही हुन्छ,’ यादवले भने । वीरगञ्ज महानगरमा मात्रै नभएर पर्साको अन्य १३ वटा पालिकामा पनि अन्तिम अवस्थामासमेत गठबन्धनकै उम्मेदवारलाई विजयी बनाउने बताए । ‘हाम्रो विचमा आपसी प्रतिस्पर्धा देखियो भने बरु हामी हारेर भएपनि गठबन्धनकै उम्मेदवारलाई जिताउँछौं तर एमालेलाई पर्सा जिल्लामा कतै पनि आउन दिँदैनौ,’ यादवले भने ।
बैठकमा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, जसपा पर्सा अध्यक्ष रामनरेश यादव, नेकपा एसका पर्सा अध्यक्ष बालगोपाल थापा, नेकपा माओवादी केन्द्रका पर्सा अध्यक्ष राम दरश प्रसाद कुशवाहा, संविधानसभा सदस्य अनिल रुङ्गटा, मधेश प्रदेशका खानेपानी मन्त्री ओमप्रकाश शर्मा, गठबन्धनका मेयर र उपमेयर पदका साझा उम्मेदवार राजेशमान सिंह र ईम्तीयाज आलम नेताहरु श्याम पोखरेल, मनोज चौधरी लगायतको सहभागिता रहेको थियो ।